पर्साको वीरगंजस्थित कैलाश होटलको रेस्टुरेन्टमा मदिरा सेवन गरी हो-हल्ला, झैँझगडा तथा कुटपिट गरेको आरोपमा दीपक तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार, गएराति कैलाश होटलको रेस्टुरेन्टमा मदिरा सेवन गरी होहल्ला गर्दै झैँ-झगडा तथा कुटपिट गरेको सूचनापछि वडा प्रहरी कार्यालय बिर्ताले उनलाई नियन्त्रणमा लिएको थियो । तिवारी वीरगंज महानगरपालिका वडा नम्बर १८ भवानीपुरका वडा अध्यक्ष उमाशंकर तिवारीका छाेरा हुन् । घटनामा संलग्न रहेको आरोपमा तिवारीलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले तिवारीलाई नियन्त्रणमा लिएर बिर्ता प्रहरीमा राखेको छ । पर्सा प्रहरीले घटनास्थलमा पुगेर विवाद शान्त पारेको थियाे ।
घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । यता उनका बाबु वीरगंज महानगरपालिका वडा नम्बर १८ भवानीपुरका वडा अध्यक्ष उमाशंकर तिवारीका अनुसार रकम लेनदेनकाे विवाद भएकाे बताएका छन् ।