वीरगंज, ९ मंसिर ।
वीरगंज महानगरपालिकाको शिक्षा प्रशासनमाथि आफन्तलाई लाभ पुग्ने गरी रातारात जिल्लान्तर शिक्षक सरुवाको प्रक्रिया अघि बढाएको पाइएको छ । महानगरपालिकाको वडा नं. ३१ सोलखपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा चितवनमा कार्यरत एक शिक्षिकालाई अस्वाभाविक गतिमा सरुवा गरी ल्याइएको घटनाले महानगरको शिक्षा शाखाको कार्यशैली शंकास्पद देखिएको हो ।
चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–५ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय पामडाँडामा कार्यरत प्राथमिक तह तृतीय श्रेणीकी शिक्षिका शोभा साहलाई वीरगंज महानगरपालिका–३१ स्थित सोलखपुर विद्यालयमा सरुवा गरी ल्याइएको हो । यस प्रक्रियामा महानगरपालिकाको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख आनन्द लामिछानेको भूमिका शंकास्पद देखिएको छ ।
प्राप्त विवरणअनुसार, २३ सदस्यीय विद्यालय व्यवस्थापन समितिमा सहायक प्रधानाध्यापकसहित चारजना अनुपस्थित रहेको अवस्थामा २०८३ असार १८ गते बैठक बसेको थियो । बैठकमा ‘रिक्त रहेको स्थायी दरबन्दीमा शिक्षक माग गर्ने’ विषयमा छलफल गरी निर्णय गरिएको थियो । तर आश्चर्यजनक रूपमा सोही दिन महानगरपालिकाले शिक्षिका साहलाई सरुवा सहमति दिएको र विद्यालयले समेत सरुवा भई आउन तथा हाजिर हुन सहमति दिएको पाइएको छ ।
एउटै दिन शिक्षक माग गर्ने निर्णय, महानगरपालिकाबाट सरुवा सहमति र विद्यालयबाट हाजिर हुन सहमति कसरी सम्भव भयो ? सामान्यतया आवश्यक प्रक्रिया, समन्वय र प्रशासनिक निर्णयमा समय लाग्ने भएपनि यस घटनामा सबै प्रक्रिया एकै दिन पूरा हुनुले सरुवा पहिल्यै योजनाबद्ध थियो कि भन्ने आशंकालाई बल पुर्याएको छ ।
अर्कोतर्फ, उक्त विद्यालयमा कार्यरत दुई स्थायी शिक्षकलाई यसअघि नै महानगरपालिकाले जिल्लाभित्रै सरुवा गरिसकेको थियो । माध्यमिक तह तृतीय श्रेणीका शिक्षक राजु कुमार मालीलाई २०८२ पुस २५ गते अलौंस्थित श्री द्वारदेवी माध्यमिक विद्यालयमा र प्राथमिक तह तृतीय श्रेणीका शिक्षक विक्रमप्रसाद पौडेललाई २०८२ चैत १९ गते बेलवास्थित श्री नेपाल राष्ट्रिय प्रगति आधारभूत विद्यालयमा सरुवा गरिएको थियो ।
जिल्लाभित्रै कार्यरत शिक्षकलाई अन्य विद्यालयमा सरुवा गरिएको अवस्थामा चितवनबाट शिक्षिका साहलाई जिल्लान्तर सरुवा गरेर सोलखपुर ल्याउनुले पनि महानगरको शिक्षा विकास तथा समन्वय इकाईको आर्थिक वा निजी स्वार्थ रहेको पुष्टि हुन्छ । यस विषयमा महानगरपालिकाको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख आनन्द लामिछानेसँग प्रतिक्रिया लिन खोज्दा उनले यसबारे आफू केही नबोल्ने बताए ।
शिक्षक सरुवाजस्तो संवेदनशील प्रशासनिक प्रक्रियामा पारदर्शिता र निष्पक्षता हुनुपर्नेमा एउटै दिन सबै प्रक्रिया पूरा हुनु संयोग मात्रै हो वा कसैलाई लाभ पुर्याउन गरिएको योजनाबद्ध प्रयास ? महानगरपालिकाले यसबारे स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ ।