वीरगंज महानगरपालिका–२२ का सीताराम राउत कुर्मिकोे परिवारले जग्गा बिक्रीबाट प्राप्त रकम र जग्गा खरिदका क्रममा आफूहरू ठगीमा परेको आरोप लगाएका छन् । कुनै समय करिब ७ बिघासम्म जग्गा रहेको आफ्नो परिवार अहिले सम्पत्ति गुमाएको पीडामा रहेको उनीहरूको भनाइ छ ।
परिवारका अनुसार, सीतारामको जग्गानजिक उद्योग स्थापना गर्ने प्रक्रिया सुरु भएपछि उद्योगले उनको १ बिघा १२ कट्ठा जग्गा खरिद गरेको थियो। जग्गा बिक्रीबाट ६ करोड ४१ लख रकम उनले माछापुच्छे बैंक लिमिटेडमा जम्मा गरेका थिए।
बैंक खातामा ठूलो रकम जम्मा भएपछि वीरगञ्ज–२८ अन्तर्गत बगही क्षेत्रका चिनजानका दुई व्यक्ति दाजुभाईले सीतारामलाई जग्गा खरिद गरिदिने भन्दै विभिन्न आश्वासन दिएको परिवारको आरोप छ। उनीहरूले सीतारामको विश्वास जितेर बैंकमा रहेको रकम जग्गा खरिद गर्ने प्रलोभनमा पारेको परिवारको दाबी छ ।
सीतारामकै रकमबाट जग्गा खरिद गरिदिने आश्वासन दिएर पटक–पटक आर्थिक कारोबार गरिएको परिवारले जनाएको छ। तर, आफूहरूका लागि खरिद गरिएको भनिएका १७ कित्ता जग्गासमेत अन्य व्यक्तिको नाममा रहेको थाहा पाएपछि ठगीमा परेको महसुस भएको परिवारको भनाइ छ।
घटनाबारे जानकारी पाएपछि परिवारले न्यायका लागि अदालतमा ७ जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । घटनामा संलग्न रहेको आरोप लागेका ७ व्यक्तिमध्ये २ जना राजकुमार राउत र राजनारायण राउतलाई प्रहरीले पक्राउ गरेको र पछि उनी धरौटीमा रिहा भएको परिवारको भनाइ छ । हाल दुवै व्यक्तिसँग सम्बन्धित मुद्दा विचाराधीन रहेको बताइएको छ।
पीडित परिवारले आरोपित व्यक्तिहरूको राजनीतिक पहुँच तथा नेताहरूसँगको निकटताका कारण न्याय पाउन कठिनाइ भइरहेको गुनासो गरेको छ। आफ्नो सम्पत्ति गुमेको पीडामा रहेका परिवारका सदस्यले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र आफ्नो सम्पत्ति फिर्ता दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्।