वीरगञ्जमा भारतीय प्रयोगशालाका एजेन्टमार्फत परीक्षण गराउने प्रवृत्ति बढ्दै गएको भन्दै स्वास्थ्य परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठेकाे छ ।
वीरगञ्जमा विभिन्न डायग्नोस्टिक तथा ल्याब सञ्चालनमा रहे पनि केही ल्याबले परीक्षणका नमुना भारतीय प्रयोगशालामा पठाउने र त्यहाँबाट प्राप्त रिपोर्टका आधारमा बिरामीलाई नतिजा उपलब्ध गराउने गरेको पाइएको छ । यसै क्रममा वीरगञ्जका अञ्जली डायग्नोस्टिक ल्याबबाट प्राप्त रिपोर्ट गलत भएपछी सेवाग्राहीले भाेग्नुसम्म दुःख पाएका छन् ।
बाराका सुमन कुमार सहनी र उनकी श्रीमती मीरा सहनीका अनुसार केही दिनअघि सामान्य स्वास्थ्य परीक्षणका लागि उनीहरू वीरगञ्जस्थित नारायणी अस्पताल पुगेका थिए । अस्पतालमा आवश्यक सबै परीक्षण उपलब्ध नभएपछि केही परीक्षण बाहिर गराउन भनिएको थियो ।
त्यसपछि उनीहरू वीरगञ्जको गणेशमान चोकस्थित अञ्जली डायग्नोस्टिक ल्याब पुगे । त्यहाँ पटक–पटक रगत परीक्षण गराउँदा प्राप्त रिपोर्टमा स्वास्थ्य समस्या देखाइएको सुमन कुमार सहनीले बताए । उक्त रिपोर्टप्रति शंका लागेपछि उनले अर्को ल्याबमा समेत परीक्षण गराउने निर्णय गरे ।
त्यसपछि नोभा ल्याबमा परीक्षण गराउँदा पनि अञ्जली डायग्नोस्टिक कै जस्तै नतिजा आएको उनको भनाइ छ । तर पुनः त्यहिँ परीक्षण गराउँदा भने रिपोर्टको नतिजा नै फरक आएको उनले बताए । दुवै ल्याबको रिपोर्टमा विश्वास गर्न नसकेपछि अर्को प्रयोगशालामा परीक्षण गराउँदा कुनै रोग नरहेको पुष्टि भएको सहनी दम्पतीले बताए ।
दुवै ल्याबमा गरिएको परीक्षण र त्यसपछि अन्यत्र गराउनुपरेको जाँचका कारण आफूहरूको २५ हजार रुपैयाँभन्दा बढी खर्च भएको सुमन कुमार सहनीले बताए । उनकी श्रीमती गर्भवती रहेकाले गलत रिपोर्टका कारण उनको स्वास्थ्यसमेत जोखिममा पर्न सक्ने अवस्था सिर्जना भएको उनले गुनासो गरेका छन् । परिवारकाे सल्लाह बमाेजिम अर्काे ठाउँमा चेकजाँच गराउदाँ कुनै त्यस्ताे राेग नभएकाे सहनीले बताए । अञ्जली डायग्नोस्टिक र नोभा ल्याबकाे विश्वासमा परेर बच्चापनी खेर जानसक्ने जाेखिम बढाएकाे सहनीकाे आराेप छ ।
सहनीका अनुसार वीरगञ्जका विभिन्न ल्याबमा नमुना संकलन गरी भारतीय एपीएल प्याथ ल्याबमा पठाउने गरेको छ । उक्त ल्याबका एजेन्ट विशाल मार्फत गरिएको परीक्षण तथा प्राप्त रिपोर्टमा गम्भीर त्रुटि देखिएको किल्निक सञ्चालककाे भनाइ रहेकाे छ । सहनीका अनुसार आफूजस्तै अन्य धेरै सेवाग्राही पनि भारतीय ल्याब र स्थानीय क्लिनिकको भर पर्दा समस्यामा पर्ने गरेको छ ।
ल्याबकाे गलत रिपोर्टका कारण परिवारमा अनावश्यक विवाद सिर्जना हुनुका साथै उपचार प्रक्रिया नै प्रभावित भएको सहनीले बताए । श्रीमती गर्भवती रहेकाले रिपोर्टमा देखाइएको स्वास्थ्य समस्याले परिवारमा मानसिक तनाव समेत बढाएको उनको भनाइ छ । परीक्षणको नतिजामाथि विश्वास गर्न नसक्दा पटक–पटक जाँच गराउनुपरेको र आर्थिक क्षति बेहोर्नुपरेको उनले बताए ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा अञ्जली डायग्नोस्टिकका सञ्चालक तथा प्रतिनिधिहरूले क्यामेराअगाडि बोल्न मानेनन् । यद्यपि, फोनमार्फत प्रतिक्रिया दिँदै उनीहरूले भारतीय एपीएल प्याथ ल्याबमा वीरगंजका एजेन्ट विशालमार्फत नमुना पठाउने गरेको र त्यहाँबाट प्राप्त रिपोर्टकै आधारमा सेवाग्राहीलाई रिपोर्ट उपलब्ध गराउने गरेको बताएका छन् ।
उता, एपीएल प्याथ ल्याबका एजेन्ट विशालले वीरगंजका विभिन्न क्लिनिक तथा ल्याबबाट नमुना संकलन गरी भारतीय प्रयोगशालामा पठाउने गरेको स्वीकार गरेका छन् । तर रिपोर्टमा देखिएको भनिएको त्रुटिबारे भने उनले जवाफ दिन चाहेनन् । बरु उक्त विषयमा समाचार नलेख्न आग्रह गरेका छन् ।
एजेन्ट विशालले सेवाग्राहीलाई शरिरकाे जुनैपनी चेकअप निःशुल्क स्वास्थ्य परीक्षण गरिदिने प्रलोभन समेत हामिसँगकाे कुराकानी दिएको छ । यसले ल्याब व्यवसायमा कमिसन तथा अन्य आर्थिक प्रलोभनको भूमिका व्याप्त रहेकाे देखिन्छ ।
स्वास्थ्य परीक्षणको रिपोर्टमा हुने सामान्य त्रुटिले समेत बिरामीको उपचार प्रक्रियामा गम्भीर असर पार्न सक्छ । विशेषगरी गर्भवती महिलाको स्वास्थ्य परीक्षणमा गलत रिपोर्ट आउनु थप संवेदनशील विषय हो । यस्तो अवस्थामा परीक्षण गर्ने प्रयोगशाला, नमुना संकलन गर्ने संस्था तथा रिपोर्ट जारी गर्ने निकाय सबैको जिम्मेवारी तथा अनुगमन हुनुपर्दछ । यता अञ्जलि डायग्नेश्टिकले भने चेकअपकाे रकम फिर्ता गरिदिएका छन् ।
वीरगंजका विभिन्न ल्याबमार्फत भारतीय प्रयोगशालामा पठाइने नमुनाको परीक्षण प्रक्रिया, रिपोर्टको गुणस्तर, प्रयोगशालाको आधिकारिकता तथा स्थानीय एजेन्टको भूमिकाबारे सम्बन्धित स्वास्थ्य निकायले छानबिन गर्नुपर्ने देखिन्छ । सेवाग्राहीले गलत रिपोर्टका कारण आर्थिक तथा मानसिक क्षति बेहोर्नुपरेको आरोप लगाइरहँदा सम्बन्धित नियामक निकायको मौनताले थप प्रश्न खडा गरेको छ ।