वीरगंज महानगरपालिका–२५ सिर्सियाको मुख्य सडक १० वर्षभन्दा बढी समयदेखि निर्माण तथा सुधार हुन नसकेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।
कुनै समय पर्साकै मुख्य मार्गका रूपमा परिचित उक्त सडक अहिले जीर्ण अवस्थामा रहेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार पप्पु कन्ट्रक्सनले सडक निर्माणको ठेक्का लिएको बताइए पनि लामो समय बितिसक्दा निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । सडक निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्नुपरेको उनीहरूको भनाइ छ ।
पूर्ववडाध्यक्ष विश्वराज कुर्मी र वर्तमान वडाध्यक्ष आशुतोष चतुर्वेदीको कार्यकालमा समेत सडकको अवस्था सुधार हुन नसकेको भन्दै स्थानीयले जनप्रतिनिधिको भूमिकामाथि समेत प्रश्न उठाएका छन् ।
महानगरपालिकाको मुख्य क्षेत्रबाट करिब २०० मिटर आसपासमै रहेको सडकको अवस्था दयनीय हुँदा पनि सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको स्थानीयको आरोप छ । सडक निर्माणसँगै पानीको उचित निकास व्यवस्थापन नहुँदा सर्वसाधारणलाई थप समस्या भइरहेको उनीहरूको गुनासो छ ।
स्थानीयवासीले राजनीतिक प्रभाव र व्यक्तिगत स्वार्थभन्दा जनताको आधारभूत आवश्यकतालाई प्राथमिकता दिन जनप्रतिनिधिहरूसँग माग गरेका छन् । १० वर्षभन्दा बढी समयसम्म मुख्य सडकको समस्या समाधान नहुनु विकास निर्माणप्रतिको बेवास्ता भएको उनीहरूको भनाइ छ ।
स्थानीयले वीरगंज महानगरपालिका र वडा कार्यालयसँग सडकको वास्तविक अवस्था अनुगमन गरी निर्माण कार्य अघि बढाउन, पानीको निकास व्यवस्थित गर्न र अलपत्र सडकलाई यथाशीघ्र सञ्चालन योग्य बनाउन माग गरेका छन् ।
दशकभन्दा बढी समयसम्म सडक निर्माणले पूर्णता नपाउनुमा ठेक्का कार्यान्वयन, निर्माणमा भएको ढिलाइ र सम्बन्धित निकायको भूमिकाबारे प्रश्न उठेको छ ।