रौतहट | रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम लच्कानजिक आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार मृतकहरू गरुडा नगरपालिका–३ मलाहिटोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिलादेवी सहनी हुन्। बलिरामले चलाएको मोटरसाइकललाई हेटौंडाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो ।
घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बलिरामको चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा सेन्टरमा र उर्मिलादेवीको बारास्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
ठक्कर दिने कार र चालक हेटौंडा उपमहानगरपालिका–१२ का कुमार पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका डीएसपी राजकुमार राईले जानकारी दिए ।
दुर्घटनापछि मृतक बाबु छोरीको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।