प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने अवसरका रूपमा हेरिएको छ । भ्रमणका क्रममा दुई देशबीच हवाई कनेक्टिभिटी, रेल सञ्जाल विस्तार तथा आर्थिक नीतिसम्बन्धी विषयमा विशेष छलफल हुने सम्भावना रहेको बताइएको छ ।
स्टेट डेभलपमेन्ट काउन्सिलका उपसचिव तथा भारत–नेपाल केन्द्र, PHDCCI का नोडल संयोजक अतुल के. ठाकुरले प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणका क्रममा यी विषयले विशेष प्राथमिकता पाउन सक्ने बताउनुभएको छ ।
उहाँका अनुसार नेपाल र भारतबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन हवाई तथा रेल यातायातको कनेक्टिभिटी महत्त्वपूर्ण छ। सहज यातायात सञ्जालले दुई देशबीच व्यापार, पर्यटन, लगानी र आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्याउन सक्छ ।
त्यस्तै, नेपाल–भारतबीचको आर्थिक सहकार्यलाई प्रभावकारी बनाउन नीतिगत समन्वय, लगानीमैत्री वातावरण र व्यापारिक अवरोध न्यूनीकरणका विषयमा समेत ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँको धारणा छ ।
सम्भावित भ्रमणले दुई देशबीचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै पूर्वाधार विकास, व्यापार विस्तार र आर्थिक साझेदारीका नयाँ सम्भावना खोल्न सक्ने अपेक्षा गरिएको छ ।