रौतहट | रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय ढंगले निर्घात कुटपिट भएको घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको ४१ सेकेन्डको भिडियोमा तीन जनाले एक व्यक्तिलाई लडाएर समाइरहेका र अर्का एक जनाले लट्ठीले उनको पैतलामा कुटपिट गरिरहेको देखिन्छ। भिडियोमा कुटपिटको आवाज दबाउन पृष्ठभूमिमा संगीत बजाइएको पनि सुनिन्छ ।
उक्त सुधार केन्द्र गौरमा एक व्यक्तिले सञ्चालन गरिरहेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए। ‘भिडियो हाम्रो जानकारीमा आएलगत्तै अनुसन्धान सुरु गरेका छौं,’ उनले अनलाइनखबरसँग भने ।
रायका अनुसार सुधार केन्द्रका सञ्चालकलाई समेत बोलाएर घटनाबारे सोधपुछ गरिएको छ। अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लगाएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनले बताए ।
प्रहरीले भिडियोको स्रोत र संलग्न व्यक्तिको पहिचानका लागि थप अनुसन्धान गरिरहेको जनाएको छ ।