भारत र पाकिस्तानबीचको सीमा तनावले सन् २०२५ को इन्डियन प्रिमियर लिग (आइपिएल) र पाकिस्तान सुपर लिग (पिएसएल) दुवै प्रभावित भएका छन् ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले आइपिएल २०२५ का बाँकी खेलहरू तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार राति धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल १०.१ ओभरमा रद्द गरिएको थियो, जुन पछि दुवै टोलीलाई सुरक्षा दिँदै पठानकोट हुँदै दिल्ली लगिएको छ ।
आइपिएल २०२५ मा हालसम्म ५८ खेल सम्पन्न भइसकेका छन् भने बाँकी १२ खेल, जसमा लखनऊ, हैदराबाद, अहमदाबाद, दिल्ली, चेन्नई, बेंगलुरु, मुम्बई र जयपुरमा हुने तय थिए, सबै अनिश्चित बनेका छन् ।
त्यस्तै, पाकिस्तान क्रिकेट बोर्डले सीमा तनावका कारण पिएसएल २०२५ का बाँकी खेल युएई सार्ने निर्णय लिएको छ। रावलपिंडीमा हुने भनिएको कराँची किंग्स र पेशावर जाल्मीबीचको खेल समेत स्थगित गरिएको छ ।
विदेशी खेलाडीहरू पाकिस्तानबाट युएई गइसकेका छन् तर युएईको कुन शहरमा खेल हुने भन्ने टुंगो लागेको छैन। यसअघि पिएसएलका बाँकी चार खेल रावलपिंडी, एक मुल्तान र अन्तिम तीन लाहोरमा हुने तय गरिएको थियो ।