काठमाडौं । काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई नेपाल–भारत सीमा क्षेत्रमा नजान आग्रह गरेको छ । भारत र पाकिस्तानबीचको पछिल्लो बढ्दो तनावलाई मध्यनजर गर्दै दूतावासले चीनका नागरिकलाई भारतीय भूभागमा भिसाबेगर भूलवश पनि नजान अनुरोध गरेको हो ।
दूतावासद्वारा जारी विज्ञप्तिमा नेपाल र भारतबीच खुला सीमा व्यवस्था रहेकाले नेपाली र भारतीय नागरिकबीच आवागमन सहज भए पनि तेस्रो मुलुकका नागरिकहरू भिसा बिना सीमापार गर्न नसक्ने उल्लेख गरिएको छ ।
'नेपाल भ्रमणमा रहेका चिनियाँ नागरिकहरूले आँखा चिम्लिएर गाइडमा विश्वास नगर्न, भारतीय सीमामा भिसाबेगर प्रवेश नगर्न र व्यक्तिगत असावधानी नअपनाउन' दूतावासले आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, 'भूलवश पनि भारत प्रवेश गरे दुईदेखि आठ वर्ष जेल सजाय हुनसक्छ, जमानत समेत कठिन हुन्छ ।'
दूतावासले भारतीय सुरक्षाकर्मीले चेकजाँच कडा बनाएको र सीमावर्ती क्षेत्रमा संयुक्त गस्ती तीव्र बनाएको जानकारी पनि दिएको छ। भारतको संवेदनशील क्षेत्रहरूमा निगरानी बढाइएको हुँदा फोटो खिच्न वा अनुमति नभएका स्थानमा जानबाट टाढा रहन पनि आग्रह गरिएको छ ।
यदि भारत जानैपर्ने अवस्था आए भिसा लिएर मात्र यात्रा गर्न दूतावासले सुझाएको छ। साथै भारत प्रवेश गरेपछि पनि चिनियाँ नागरिकहरूले सावधानी अपनाउनुपर्ने चेतावनी दिइएको छ ।