पाकिस्तानले भारतविरुद्ध औपचारिक सैन्य कारबाही ‘अपरेसन बुन्यान अन मार्सुस’ प्रारम्भ गरेको घोषणा गरेको छ ।
पाकिस्तानी सरकारले एक विज्ञप्ति जारी गर्दै उक्त अपरेसन सुरु गरिएको र यसअन्तर्गत भारतका प्रमुख सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरिने जनाएको हो । यसअघि भारतमाथि भएका विभिन्न आक्रमणहरूमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएको पाकिस्तानले यसपटक भने औपचारिक रूपमै आक्रमणको घोषणा गरेको हो ।
पाकिस्तानी सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "जवाफी अपरेसन बुन्यान अन मार्सुसको एक भागका रूपमा ‘उपयुक्त जवाफ’ दिन भारतका प्रमुख सैन्य प्रतिष्ठानलाई निशाना बनाइएको हो । यो कारबाही भारतको प्रारम्भिक हमलाको जवाफमा गरिएको हो, जुन हाम्रो मातृभूमि, जनता र सार्वभौमसत्तामाथिको आक्रमण थियो ।"
साथै, पाकिस्तानले भारतले शुक्रबार राति आफ्ना तीनवटा वायुसेनाका हवाई अखडामा क्षेप्यास्त्र प्रहार गरेको पनि दाबी गरेको छ ।
उल्लेखनीय छ कि जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएपछि भारतले पाकिस्तानलाई दोष दिँदै उसको विरुद्ध ‘अपरेसन सिन्दूर’ नामक कारबाही सञ्चालन गरिरहेको छ ।
पाकिस्तानको यो कदमलाई सोही ‘अपरेसन सिन्दूर’को प्रत्युत्तरका रूपमा हेरिएको छ । यस घटनाले दुई आणविक शक्ति सम्पन्न छिमेकी राष्ट्रबीच तनाव थप चर्किने देखिएको छ ।