वीरगंज | चलचित्र पत्रकार संघ, पर्साको प्रथम अधिवेशन वीरगंजमा भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ, जसअनुसार अध्यक्षमा सुर्यनारायण विक चयन भएका छन् ।
संघको नेतृत्व गर्नका लागि उपाध्यक्षमा आनन्द पटेल, सचिवमा रन्जित यादव, कोषाध्यक्षमा शबनम भट्टराई, सहकोषाध्यक्षमा दिपु बर्णवाल चयन भएका छन् । यस्तै, अन्य सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन गरिएर नयाँ कार्यसमिति गठन गरिएको हो ।
अधिवेशनमा चलचित्र पत्रकारिता क्षेत्रका अग्रज, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, कलाकार तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली चलचित्र, साङ्गीतिक क्षेत्र र पत्रकारिताबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष सुर्यनारायण विकले आगामी दिनमा चलचित्र पत्रकारहरूको हकहित, क्षमता अभिवृद्धि र नेपाली फिल्म उद्योगसँग सहकार्य बढाउने प्रतिबद्धता जनाएका थिए ।