वैदेशिक रोजगारसम्बन्धी ठगी आरोपमा फरार रहँदै आएका पर्सा वीरगञ्जका एक जना वृद्ध पक्राउ परेका छन् ।
पक्राउ परेका व्यक्ति वीरगञ्ज महानगरपालिका–२४ निवासी ६८ वर्षीय सिताराम प्रसाद कुर्मी हुन् । प्रहरीका अनुसार उनलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँको पत्रका आधारमा खोजतलास गरिएकोमा २०८२ साल वैशाख ३१ गते पक्राउ गरी काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
सिताराम प्रसाद कुर्मी वैदेशिक रोजगारसम्बन्धी कसूर मुद्दामा प्रतिवादी रहेका थिए । वादी सुरेश सिंह घिमिरेको जाहेरीका आधारमा नेपाल सरकार वादी बनेको सो मुद्दा २०८२ साल वैशाख ७ गते मुद्दा दर्ता भएको थियो। उक्त मुद्दा वैदेशिक रोजगार सम्बन्धी कानुनअनुसार ठगी, भ्रम र गैरकानुनी रुपमा विदेश पठाउने प्रक्रिया प्रयोग गरिएको आरोपमा दर्ता भएको हो ।
वैदेशिक रोजगार विभाग, ताहाचलको २०८२/०१/१७ को पत्र अनुसार खोजी कार्य तीव्र बनाइएको थियो। त्यसकै आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले कुर्मीलाई पक्रेको हो ।
पक्राउ परेका कुर्मीलाई हाल वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँमा बुझाइएको छ। विभागले अब उनीविरुद्ध थप अनुसन्धान अघि बढाउने जनाइएको छ ।