कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा १६ दिने सुत्केरीको आफ्नै देवरद्वारा हत्या गरिएको पाइएको छ ।
प्रहरी अनुसन्धानबाट बिहीबार राति १६ वर्षीया तुलसी नाथको हत्या उनका सहोदर देवर २० वर्षीय नवीन नाथले गरेको खुल्न आएको हो । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दका अनुसार, सामान्य पारिवारिक मनमुटावका कारण घटना हत्या तहमा पुगेको हो । तुलसीका श्रीमान् भारतको पुनामा मजदुरी गर्छन् । उनीहरु संयुक्त परिवारमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार घटना भएको दिन बिहान बच्चालाई खोप लगाउन तुलसी स्वास्थ्य चौकी गएकी थिइन् । फर्किंदा परिवारका सबै सदस्यले खाना खाइसकेका थिए तर तुलसीका लागि खाना राखिएको थिएन । त्यसपछि उनले चाउचाउ खाएर चित्त बुझाएकी थिइन् ।
“उनले त्यस बेला कमाउने मेरो श्रीमान्, तर मलाई सुत्केरी अवस्थामै खाना नराखिदिने भनेकी रहिछिन्,” डीएसपी चन्दले बताए, “त्यसपछि देवर नवीन नाथले रिस उठाएर हत्या गरेका रहेछन् ।”
प्रहरीका अनुसार, साँझ नवीनले नै खाना बनाएका थिए । राति करिब १२ बजेतिर उनी भाउजू तुलसी नाथको कोठामा गएर मुख च्यापी हत्या गरेका थिए । हत्या गरेपछि शवलाई घर अगाडिको नालामा फालेका थिए ।
भोलिपल्ट बिहान शव देखिएपछि परिवार र छरछिमेकमा हल्ला मच्चिएको थियो । शरीरमा कुनै लिलडाम नदेखिए पनि कानका सुन गहना हराएको र घाँटीको पोते शवको छेउमै भेटिएको थियो ।
प्रहरीले प्रारम्भिक अनुसन्धान र केरकारपछि नवीन नाथले हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले शिशुलाई सुरक्षित संरक्षणमा राखिएको जानकारी दिएको छ ।