चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका एक व्यक्तिको गैंडाको आक्रमणबाट मृत्यु भएको छ । बिहीबार बिहान राप्ती नगरपालिका–६ स्याउली टोलका ५२ वर्षीय सनिश्चरा दराईको ज्यान गएको हो ।
चितवन निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार दराई बिहान ६ बजेतिर राप्ती एकता मध्यवर्ती सामुदायिक वनको भसामाडी तल्लो ताल क्षेत्रमा घाँस काट्न गएका थिए। त्यही क्रममा गैंडाको आक्रमणमा परी घटनास्थलमै उनको मृत्यु भएको हो ।
निकुञ्जको खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नवराज पाठकका अनुसार घटनास्थलमा दराईले प्रयोग गरेको हसियाँ, एउटा खाली बोरा र एक मुठा घाँस फेला परेको थियो । “बिहान घाँसको जोहो गर्न गएका बेलामा घटना भएको हो,” अध्यक्ष पाठकले बताए ।
चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जंगली जनावर ओहोरदोहोर गर्ने क्षेत्रमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । निकुञ्जसँग जोडिएका चार जिल्लाको मध्यवर्ती क्षेत्रमा बाघ, गैंडा, जंगली हात्ती, बँदेल, गोही लगायतका जंगली जनावरको आक्रमणमा परेर हरेक वर्ष ५ देखि २५ जनासम्मको ज्यान जाने गरेको तथ्यांक छ ।
निकुञ्ज प्रशासनले यस्तो घटना नदोहोऱ्याउन सुरक्षित ढंगले वन प्रयोग गर्न र वनमा एक्लै नजान समेत अनुरोध गरेको छ ।