नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले जापान जान चाहने प्रशिक्षार्थी कामदार युवामाथि भइरहेको शोषण र अनावश्यक झमेलालाई "गम्भीर सिन्डिकेट"को परिणाम बताउँदै तत्काल कारबाहीको माग गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा उनले भिसा आइसकेपछि फेरि भाषा परीक्षा लिने प्रक्रिया गैरकानुनी र अमानवीय भएको टिप्पणी गरेका छन् । यस प्रक्रियाले प्रशिक्षार्थी युवाको सपना र श्रममाथि खेलवाड गरिरहेको शिवाकोटीको आरोप छ ।
"जब जापानी पक्षले युवालाई स्वीकार गरिसकेको छ र भिसा नै आइसकेको छ, त्यसपछि फेरि भाषा परीक्षा लिने नाममा रोक्नु, अलमल्याउनु र आर्थिक रूपमा शोषण गर्नु अमानवीय हो," उनले लेखेका छन् ।
शिवाकोटीका अनुसार यो अवस्था विगत १५ वर्षदेखि चल्दै आएको सिन्डिकेटको परिणाम हो, जसले प्रशिक्षार्थी युवाको श्रम बेचेर नाफामुखी धन्दा सञ्चालन गरिरहेको छ । विशेष गरी जाइका एल्मुना एसोसिएसन नेपाल जान सँग वैदेशिक रोजगार विभागको सहकार्यलाई उनले सिन्डिकेटको नमूना ठहर गर्दै तत्काल तोड्नुपर्ने माग गरेका छन् ।
"केही सीमित व्यक्ति र संस्थाले सरकारी संयन्त्रको नाम लिई निर्दोष युवाको भविष्य र परिवारको लगानीमा खेलवाड गरिरहेका छन्," भनी उनले उल्लेख गरेका छन् ।
शिवाकोटीले यो अवस्था भिजिट भिसा प्रकरणजस्तै भयावह भएको बताउँदै वैदेशिक रोजगार विभागलाई सुशासन र पारदर्शिता व्यवहारमा देखाउन आग्रह गरेका छन् । साथै, उनले अनधिकृत संस्था तथा एजेन्सीहरूलाई श्रम प्रक्रियाबाट तत्काल हटाई छानबिन र कारबाही थाल्नुपर्ने मागसमेत राखेका छन् ।
"हामीले आफ्ना युवाको श्रमको सम्मान गर्न नसक्ने हो भने देशभित्रको बेरोजगारीको समाधान खोज्ने नैतिक आधार पनि गुम्छ," शिवाकोटीले चेतावनी दिएका छन् ।