काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई दिएका छन् ।
भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन तुर्कमिनिस्तान पुगेका प्रधानमन्त्री ओलीले सोमबार साँझ फेसबुकमार्फत् स्ट्याटस लेख्दै बधाई दिएका हुन् ।
स्ट्याटसमा प्रधानमन्त्री ओलीले सफल भएका विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै भनेका छन्,
"अब नेपालमै पढ्ने, देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गर्नुपर्छ ।"
यसअघि राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । सार्वजनिक नतिजाअनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशतको नन-ग्रेड (NG) आएको छ ।
