सर्लाही | सर्लाहीको बरहथवामा स्कुल बसको ढोकाबाट खसेर कक्षा ३ मा अध्ययनरत एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकौल गाउँपालिका–३, हरकठ्वाका १३ वर्षीय फैजान शेख रहेका छन्। उनी कायाकल्प एकेडेमीमा अध्ययनरत थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, बिहीबार अपराह्न साढे ४ बजे बरहथवा नगरपालिका–८, टाँडीस्थित भित्री सडकखण्डमा ग १ ख ९५६८ नम्बरको विद्यालय बसबाट खस्दा उनी गम्भीर घाइते भएका थिए ।
बसको ढोकामा उभिएका फैजान अचानक लडेर सडकमा खस्दा गम्भीर चोट लागेको थियो। उनलाई तत्कालै बरहथवाको संकटमोचन अस्पतालमा उपचारका लागि लगिएको थियो ।
संकटमोचन अस्पतालबाट थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगिएकोमा साँझ ७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनापछि बस चालक, बागमती नगरपालिका–१० निवासी २१ वर्षीय राजकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।