बुटवल | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार लैजान रुपन्देही कारागार भैरहवाबाट बाहिर निकालिएको छ । लामिछानेलाई कारागारबाट गौतमबुद्ध विमानस्थल लगिने र बुद्ध एयरको जहाजमार्फत काठमाडौं लगिने छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा थुनामा थिए। उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । अदालतले अनुमति दिए पनि गृह प्रशासनले स्थानान्तरण रोकिरहेको थियो ।
कारागार सरुवा रोकिएपछि रास्वपाले संसदमा विरोध जनाएको थियो। रवि लामिछानेकी पत्नी निकिता पौडेलले अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासम्म मुद्दा पुर्याउने चेतावनी दिएकी थिइन् ।
मानवअधिकार आयोगको टोलीले केही दिनअघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो जीवन असुरक्षित रहेको र बसाई असहज रहेको बताएका थिए। त्यसपछि सरकारमाथि दबाब बढेको थियो र त्यसको परिणामस्वरूप लामिछानेलाई काठमाडौं सार्ने निर्णय गरिएको हो ।
कारागार स्थानान्तरणको खबर सार्वजनिक भएपछि भैरहवा कारागार अगाडि रास्वपा नेता तथा कार्यकर्ताको भीड जम्मा भएको थियो । उनलाई ३:१० बजे फ्लाइटमार्फत लैजान भनिएको भए पनि कारागारबाट बाहिर निकाल्न ढिला भएको थियो ।
लामिछानेले जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए र अदालतले जेठ १६ गते अनुमति दिएको थियो। करिब ४० दिनपछि मात्र कारागार व्यवस्थापन विभागले स्थानान्तरणको निर्णय गरेको हो ।
भिडियाे सामाग्री