वीरगन्ज महानगरपालिकाले फैलिरहेको हैजाको संक्रमणलाई मध्यनजर गर्दै आगामी भदौ ११ गतेदेखि १३ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।
नगर प्रमुखस्तरीय बैठकले गरेको निर्णयअनुसार विद्यालयहरू तीन दिनका लागि बन्द रहने भए पनि शिक्षक र कर्मचारीलाई भने अनिवार्य रूपमा विद्यालयमा उपस्थित रहनुपर्नेछ ।
महानगरपालिकाको शिक्षा प्रशासन महाशाखाले जारी गरेको सूचनामा विद्यालय बन्दको अवधिमा शिक्षक तथा कर्मचारीलाई आफ्नो विद्यालयको सेवा क्षेत्रभित्र हैजा नियन्त्रण र जनचेतनामूलक गतिविधि सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । यसका लागि आवश्यक पोष्टर, पम्प्लेट तथा अन्य सामग्रीहरू शैक्षिक प्रशासन महाशाखाबाट उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।
यो कदम विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर चालिएको देखिन्छ । यसअघि पनि वीरगन्ज क्षेत्रमा हैजाको संक्रमण फैलिएको रिपोर्ट सार्वजनिक भइसकेको छ, जसलाई नियन्त्रण गर्न स्थानीय सरकारले सक्रिय भूमिका खेलिरहेको छ ।