पर्साको वीरगन्ज महानगरपालिकापछि अब पोखरिया उपमहानगरपालिकामा पनि हैजाको संक्रमण पुष्टि भएको छ ।
पोखरिया अस्पतालका अनुसार मंगलबार झाडापखाला लागेर उपचारका लागि आएका तीन जनामा हैजा पोजेटिभ देखिएको हो । संक्रमितमध्ये एक बालक र दुई पुरुष रहेका छन् । तिनै जना वीरगन्जका बासिन्दा भएको र केही दिनअघि मात्रै पोखरिया पुगेको अस्पतालले जनाएको छ । संक्रमितमध्ये एक जनालाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको छ ।
अस्पतालका अनुसार हाल पोखरियामा दैनिक सात जना भन्दा बढी झाडापखालाका बिरामी उपचारका लागि आइरहेका छन् ।
यसैबीच, वीरगन्ज महानगरपालिकामा हैजाको प्रकोप अझै बढ्दै गएको छ । मंगलबार साँझदेखि बुधबार बिहानसम्म थप एक जनामा संक्रमण पुष्टि भएसँगै महानगरमा हैजा संक्रमितको संख्या ११५ पुगेको छ ।
वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार हालसम्म झाडापखाला र हैजाबाट संक्रमित २२७ जना उपचारपछि निको भई घर फर्किसकेका छन् ।
पछिल्लो तथ्यांकअनुसार वीरगन्जका विभिन्न अस्पतालमा हाल ४९३ जना झाडापखालाका बिरामी भर्ना भएका छन् । तीमध्ये ३८ जना आईसीयूमा र ३ जना एचडीसीयूमा उपचाररत छन् ।