जनकपुरधाम | धनुषाका १८ स्थानीय तहको खाता सञ्चालनमा नआएकाले आर्थिक कारोबार ठप्प भएको छ । यसबाट विशेष गरी कर्मचारीहरू समस्यामा परेका छन् ।
कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार, जिल्लाका एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिकाको खाता अझै सञ्चालनमा नआएको छ । चालु आर्थिक वर्ष बितिसक्दा पनि स्थानीय तहको खाता नखुल्दा कर्मचारीले तलब र सुविधा पाउन सकेका छैनन् भने विकास निर्माणका कामहरू पनि प्रभावित भएका छन् ।
साथै, बजेट खर्चसम्बन्धी आर्थिक कारोबार नभएको जानकारी सो कार्यालयले दिएको छ । स्थानीय तहको खाता सञ्चालनका लागि नगरसभा वा गाउँसभा सम्पन्न गर्ने, आर्थिक र विनियोजन विधेयक पारित गर्ने, चालु वर्षको बजेट पारित गर्ने, अघिल्लो वर्षको खर्चको हिसाब बुझाउने जस्ता कानुनी प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान रहेको सो कार्यालयले जनाएको छ ।
धनुषाका अधिकांश स्थानीय तहले यी प्रक्रिया पूरा नगरेकोले खाता बन्द रहेको छ । सो कार्यालयका अनुसार १८ पालिकामध्ये १० पालिकाले चालु आर्थिक वर्ष २०८२-८३ को बजेट सम्बन्धित निकायमा पेश नगरेका छन् । खाता सञ्चालनमा नआउँदा स्थानीय विकास निर्माणका योजना पनि प्रभावित भएका छन् ।