चितवन | चितवनको पर्यटकीय क्षेत्र सौराहाका होटलमा पर्यटकले धमाधम बुकिङ रद्द गरेका छन् । सामान्यत: पर्यटकीय याममा पनि होटल बुकिङ उच्च हुने गरेको भए पनि हाल स्थिति विपरीत छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह भएपछि अधिकांश होटलका बुकिङ रद्द भएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार सेप्टेम्बर महिनाका लागि भएका सबै बुकिङ शतप्रतिशत रद्द भएका छन् भने आगामी महिनाका बुकिङ पनि क्रमशः रद्द हुँदै गएको छ ।
ओम पाण्डेका अनुसार, “यो महिनामा ६५–७० प्रतिशत होटलका कोठा बुकिङ भएका थिए, अहिले एक–दुई वटा कोठा बाहेक सबै खाली छन्।”
सौराहाका होटलहरूमा गत आन्दोलन अघि पर्यटक राम्रै संख्या थिए, तर आन्दोलनपछि नयाँ पर्यटक आउन बन्द भएको बताइएको छ ।
निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार, अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश फैलिएको कारण ट्राभल एजेन्सीमार्फत पर्यटकलाई सुरक्षित नभएको चेतावनी दिइएको छ र दैनिक करिब एक सय इमेल तथा म्यासेज पठाइँदै आएको छ । उनका अनुसार, अहिले सौराहामा होटलको क्षमताको तुलनामा मात्र पाँच प्रतिशत पर्यटक उपस्थित छन् ।
सौराहा मुख्यत: चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि प्रसिद्ध छ । यस निकुञ्जको जङ्गल सफारी विश्वभर लोकप्रिय रहेको छ।