सप्तरी । दसैँ सुरु भएको पाँच दिन बितिसक्दा पनि सप्तरीको राजविराज बजारमा खासै चहलपहल देखिएको छैन । विगतका वर्षहरूमा चाडपर्वका बेला भीडभाड हुने बजार यसपालि सुनसान देखिएको स्थानीयवासीहरूको भनाइ छ ।
बजारमा उपभोक्ताको उपस्थिती न्यून हुँदा व्यापारीहरू दिनभरि पसलमा मुख ताकेर बस्नुपर्ने बाध्यतामा परेका छन् । ‘‘यसपालि दसैँ आएको जस्तो लाग्दैन, बजार चहलपहल छैन, उपभोक्ताहरूमा किनमेलको चासो देखिँदैन,’’ राजविराजका कपडा व्यवसायी जयप्रकाश गुप्ताले भने ।
उनी भन्छन्, ‘‘मन्दिरहरूमा पनि अन्य वर्षको तुलनामा भक्तजनको भीड निकै कम छ ।’’
राजविराज नगरपालिका–२ की रिता शर्माले पनि दसैँको उमङ्ग देखिन नसकेको बताइन्। उनले भनिन्, ‘‘विगतका वर्षहरूमा दसैँमा उत्साह र रौनक अर्कै हुन्थ्यो, यसपालि त्यस्तो वातावरण देखिएको छैन ।’’
यस्तै, राजविराज नगरपालिका–६ का नरेश कुमार चौधरीका अनुसार सामुदायिक विद्यालयका शिक्षक र स्थानीय तहका कर्मचारीहरूले तलब नपाएको कारण बजार सुनसान बनेको हो । उनले भने, ‘‘तलब नपाएपछि किनमेलमा कमी हुनु स्वाभाविक हो ।’’