सिरहाको कल्याणपुर नगरपालिका–८ अरङमा पाँच दलित परिवारको घर तोडफोड गरेको आरोपमा वडाध्यक्ष रामकिशोर यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित पक्षले १३ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता गरेका थिए। जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएको र त्यही क्रममा नियन्त्रणमा लिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए ।
वडाध्यक्ष यादवसँगै तोडफोड र लुटपाटमा संलग्न स्थानीय राजकुमार सिंह, प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायतमाथि पनि जाहेरी परेको छ । प्रहरीका अनुसार हालसम्म वडाध्यक्ष यादवसहित तीनजनालाई पक्राउ गरिएको छ भने अन्य फरार अभियुक्तको खोजी भइरहेको छ ।
घटना गत शुक्रबार साँझ करिब ५ बजे अरङस्थित ठूलो पोखरीको उत्तरपट्टीमा बसोबास गर्दै आएका दलित परिवारका घरमा तोडफोड र लुटपाट भएको थियो । स्थानीय शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानका घरमा आक्रमण भएको पीडितहरूले बताएका छन् ।
पीडितका अनुसार राजकुमार सिंह, प्रभास सिंह, शैलेन्द्र सिंह, नितेश सिंहसहित करिब २०–२५ जनाको समूहले प्रहरीकै अगाडि तोडफोड र लुटपाट गरेको थियो। मिर्चैया र सशस्त्र प्रहरीको थप टोली पुग्दा उनीहरू फरार भएका थिए ।
स्थानीयका अनुसार असोज १ गतेको विश्वकर्मा पूजाका बेला अरङ बजारमा आयोजित आर्केस्ट्रा कार्यक्रममा दलित समुदाय र प्रभास सिंहबीच विवाद भएको थियो। सोही घटनाको प्रतिशोधस्वरूप दलित समुदायका घरमा आक्रमण गरिएको आशंका छ ।
भिडियाे सामाग्रीहरू