वीरगंज । पर्सामा प्रहरीले चोरीका सुनचाँदीका गरगहनासहित चार जनालाई नियन्त्रणमा लिएको छ । करिब ३७ लाख रुपैयाँ मूल्य बराबरको सुनचाँदीका गहनासहित तीन भारतीय र एक नेपाली पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य, बेतिया जिल्लाको बल्थर थानाको सरकिला गाउँका ३३ वर्षीय विजय राय, ६० वर्षीय शेख बुनाद, ३१ वर्षीय विनोद राउत र पर्सा, वीरगंज महानगरपालिका–३२ टेढाका २० वर्षीय विद्याकुमार नट रहेका छन् ।
प्रहरीका अनुसार गत कात्तिक ३० गते वीरगंज–३२ मा शंका लागेर रोकेको लु.९६ प ३७३३ नम्बरको स्कुटीमा सवार शेख बुनादको शरिर खानतलासी गर्दा उनले लगाएको पाइन्टको खल्तीमा सेतो रूमालमा लुकाइएको सुनका केही गहनाहरु फेला परेको थियो। त्यसपछि शेखलाई नियन्त्रणमा लिइएको थियो ।
शेखले दिएको जानकारीका आधारमा प्रहरीले नटको घरमा खानतलासी गर्दा ३६ लाख ७० हजार ५१ रुपैयाँ मूल्य बराबरको सुनचाँदीका गरगहनाहरु बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिवहादुर बस्नेतले जानकारी दिनुभयो । बरामद गरिएका गहनामा सुनको सिक्री ११ थान, झुम्का २ थान, नथिया ३ थान, पोतेसहितको माला २ थान, लकेट १ थान, औंठी १ थान, मांगटीका २ थान, बिछिया ८ थान, चाँदीको पाउजु १० थान, चाँदीका सिक्का २ थान, हाथशंकर २ थान र सुनचाँदी तौल गर्ने तराजु १ थान रहेका छन् । साथै ३ लाख ७९ हजार नेपाली रुपैयाँ र ९ हजार २०० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ ।
प्रहरीको अनुमान छ कि बरामद गरिएका गहनाहरु पर्सा र बाराका विभिन्न मेला, उत्सव र चाडबाडमा चोरी गरिएका हुन् । पक्राउ परेका चारै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धि कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
प्रहरी नायब उपरीक्षक बस्नेतले भने, “बिल–बिजकसहित गहनाधनीहरुले आफूहरूसँग आएर प्रमाण पेश गरेमा छानबिन गरी फिर्ता दिन सकिन्छ ।”

