राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आइतबार औपचारिक रूपमा एकता भएको छ ।
‘सुसंस्कृत राजनीति’, ‘सूशासन’ र वैकल्पिक राजनीतिक शक्ति निर्माणलाई प्रमुख एजेन्डा बनाउँदै दुवै पार्टीले ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरेका हुन् । सहमतिपत्र अनुसार, “सबै नेपालीको समतामूलक उन्नति, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र तथा बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्ने साझा उद्देश्यका लागि दुवै पार्टी एकीकृत भएका” छन् ।
यो एकता रास्वपा अध्यक्ष रवि लामिछाने नेतृत्वमा छोटो समयमै स्थापित भएको संसदीय हैसियत र स्वर्गीय उज्वल थापाले सुरु गरेको ‘विवेकशील अभियान’ लाई आधार बनाइ सम्पन्न भएको सहमतिपत्रमा उल्लेख छ ।
दुवै दलले एकीकृत पार्टीले वैकल्पिक राजनीतिक अभ्यासलाई संस्थागत गर्दै सुशासन तथा पारदर्शी व्यवस्थापनमा कडाइका साथ अघि बढ्ने बताइएको छ ।