पर्सामा २९ किलो लागू औषध गाँजा सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पर्साको जिराभवानी गाउँपालिका–५ शंकरसरैया स्थित बाँसबारी क्षेत्रबाट विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले राति करिब ९ बजे सूचनाकाे आधारमा भारत विहार, पश्चिम चम्पारण (बेत्तिया) ग्राम मुसहरी पञ्चायत–१३ का ६५ वर्षीय गामा विनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार विनले प्लास्टिकको एक बोरा पिठ्युँमा भिरेका थिए भने अर्को बोरा टाउकोमा बोकेर बाँसघारीमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेका थिए । ती बोरा तथा प्लास्टिकबाट २९ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद लागू औषधसहित पक्राउ परेका विनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा पठाइएको छ ।
उनीविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।