जनकपुरधाममा पाँच दिनअघि भएको एक महिलाको शंकास्पद मृत्यु प्रकरणमा आरोपितलाई कडा कारबाही गर्नुपर्ने माग सहित सोमबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि स्थानीयवासी र पीडित पक्षले विरोध प्रदर्शन शुरु गरेका छन् ।
विहीबार जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाकी २७ वर्षीया रोशनी झाको मृत्यु भएको थियो । घटनापछि घरपट्टिको पक्षले भर्याङबाट लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको दाबी गर्दै आएको छ भने माइती पक्षले भने रोशनीलाई घाँटी थिचेर हत्या गरिएको आरोप लगाउँदै आएको छ ।
माइती पक्षको आरोप अनुसार, उनका श्रीमान् प्रशान्त मिश्र नै घटनामा संलग्न रहेका छन् । यता मिश्रलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख रुगमबहादुर कुँवरले घटनाबारे सूक्ष्म र वैज्ञानिक ढङ्गले छानबिन भइरहेको बताएका छन् । तर यता अनुसन्धानसुस्त भएको भन्दै पीडित पक्ष आक्रोशित बनेर सडकमा उत्रिएको छ ।
विरोध कार्यक्रममा सहभागीहरूका अनुसार पाँच दिनसम्म पनि घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन ढिलाइ गरिनु प्रहरीको लापरवाही भएको दाबी गरिएको छ ।
प्रदर्शनकारीहरूले दोषीलाई यथाशीघ्र कारबाही गरी कडा सजाय दिन माग गर्दै नारा जुलुससहित कार्यक्रममा सहभागी भएका थिए ।
प्रहरी प्रशासनले भने प्रदर्शनकै बीच घटनाबारे आवश्यक प्रमाण संकलन, शवको पोष्टमार्टम रिपोर्ट र प्रत्यक्षदर्शी तथा परिवारजनका बयानको आधारमा छानबिन अघि बढाइएको जनाएको छ ।
उनीविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।