सप्तरी । सप्तरीमा बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहार, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
ज्योति विकास बैंक लिमिटेडको क्लस्टर कार्यालय बर्दिवासबाट कर्जा असुली कार्यका लागि खटिएका कर्मचारी सुनित श्रेष्ठ र सविन कुमार श्रेष्ठमाथि कर्जा भुक्तानी नगरेको विषयलाई लिएर दुर्व्यवहार तथा कुटपिट गरिएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–७ घर भएका ५२ वर्षीय संजीव कुमार चौधरी र अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ घर भएका ४७ वर्षीय उमाकान्त चौधरी रहेका छन् । प्रहरीका अनुसार रुपनी शाखाबाट कर्जा लिई समयमै भुक्तानी नगरेपछि बैंकले कर्जा असुली प्रक्रिया अगाडि बढाएको थियो ।
सोही क्रममा मङ्सिर २४ गते दिउँसो करिब ३ बजे कञ्चनपुर–फत्तेपुर सडकखण्डस्थित बलारदह चोकमा बैंकका कर्मचारी सुनित र सविनलाई एक्कासी घेराहाली नियन्त्रणमा लिई सप्तकोशी नगरपालिका–७ मा रहेको सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.को परिसरमा लगिएको थियो ।
त्यहाँ उनीहरूमाथि कालोमोसो दल्ने, जुत्ताको माला लगाइ फोटो तथा भिडियो बनाउने, कुटपिट गर्ने तथा सुनित श्रेष्ठले लगाएको १० आना सुनको औँठी र सुनको सिक्रीसमेत लुटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
घटनाबारे मङ्सिर २९ गते जाहेरी दरखास्त प्राप्त भएपछि दुवैजनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका दुवैजनामाथि अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय कञ्चनपुरमार्फत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।