तराई–मधेस क्षेत्रमा चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिनका लागि जाडो बिदा दिएको छ ।
चिसो मौसमलाई मध्यनजर गर्दै महानगरपालिकाले सोमबारदेखि लागू हुने गरी बिदा दिने निर्णय गरेको हो । महानगरपालिकाका अनुसार वर्षे सट्टे बिदाबाट कट्टा हुने गरी पुस ७ गतेदेखि पुस ९ गतेसम्म विद्यालयहरू बन्द रहनेछन् ।
महानगरपालिकाले जारी गरेको सूचनाअनुसार पुस ११ गते शैक्षिक क्यालेन्डरमै बिदा परेकाले पुस १३ गतेदेखि नियमित रूपमा विद्यालय सञ्चालन हुने जनाइएको छ ।
पछिल्लो एक साता यता तराई–मधेस क्षेत्रमा चिसो ह्वात्तै बढेको छ । बिहान र साँझ बाक्लो हुस्सु लाग्नुका साथै चिसो हावा चल्न थालेपछि जनजीवन प्रभावित भएको छ ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दैनिक ज्यालादारी मजदुरीमा निर्भर व्यक्तिहरूलाई चिसोले बढी असर पुर्याएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
चिसो अझै केही दिन कायम रहने अनुमान गरिएकाले स्थानीय निकाय तथा स्वास्थ्यकर्मीहरूले न्यानो कपडा प्रयोग गर्न, अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।