राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग भएको भेटवार्ताबारे जानकारी दिएका छन् ।
मंगलबार चितवन जिल्ला अदालतमा तारेख लिन पुगेका लामिछानेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त भेटलाई देशमा परिवर्तनका लागि जुटिरहेका नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूलाई संवादमार्फत एकै ठाउँमा ल्याउने प्रयासको हिस्साका रूपमा व्याख्या गरेका छन् । उनले परिवर्तनको एजेन्डा बोकेका शक्तिहरूबीच आपसी समझदारी र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सोही उद्देश्यका साथ संवाद अघि बढाइएको बताए ।
‘हामीले पहिलेदेखि नै भन्दै आएका छौँ—परिवर्तनमा लाग्नुभएका नयाँ र वैकल्पिक शक्तिहरूलाई संवाद मार्फत एकै ठाउँमा ल्याउने हाम्रो प्रयास हो,’ लामिछानेले भने, ‘त्यही प्रयासको एक महत्वपूर्ण कडीका रूपमा अहिले संवाद सुरु भएको छ ।’ प्रधानमन्त्रीको साझा उम्मेदवारको विषयमा सोधिएको प्रश्नमा उनले हाल त्यस्तो चरणमा नपुगेको स्पष्ट पारे ।
‘हामी अहिले नै त्यो चरणमा प्रवेश गरेका छैनौँ । पहिला त कुराकानी हुनुपर्छ, एक–अर्काको विचार, दृष्टिकोण र परिस्थितिलाई बुझ्नुपर्छ,’ उनले भने, ‘हतार नगर्नुस्, राजनीतिक प्रक्रिया बिस्तारै अगाडि बढ्छ ।’ लामिछानेले मेयर बालेन शाह बाहेक अन्य राजनीतिक तथा वैकल्पिक शक्तिहरूसँग पनि संवाद जारी रहेको जानकारी दिए ।
सोमबार रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता तथा संवाद भएको थियो ।