पर्साको बहुदरामाई नगरपालिका–२, सिसियाडी गाउँमा बाटो विवादका क्रममा दलित समुदायका भागरित पासवानको घरमा आगजनी र कुटपिट भएको घटनाको राष्ट्रिय दलित आयोगले स्थलगत अनुगमन गरेको छ ।
आयोगका अध्यक्ष देवराज विश्वकर्मा, सदस्य तथा मधेश प्रदेश संयोजक सुन्दर पुकुर्टीसहितको टोलीले घटनास्थल पुगेर पीडित परिवारसँग भेटघाट गरेको हो । टोलीले प्रमुख जिल्ला अधिकारी भोला दहाल र प्रहरी उपरीक्षक सुदिपराज पाठकसँग छलफल गर्दै घटनाबारे विस्तृत जानकारी लिएको छ । पीडित भागरित पासवानका अनुसार निजी नम्बरी जग्गामा बाटो दिन अस्वीकार गरेकै कारण विपक्षी समूहले पेट्रोल छर्केर घरमा आगजनी गर्नुका साथै आफू र श्रीमती मिना देवीमाथि कुटपिट गरेका थिए । आगलागीबाट अन्न, नगद, गहना, कपडा तथा घर संरचनासमेत गरी लाखौँ रुपैयाँ बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।
अनुगमनपछि अध्यक्ष विश्वकर्माले दलित समुदायमाथि भएको हिंसा गम्भीर र निन्दनीय रहेको भन्दै दोषी जो–कोही भए पनि कानुनअनुसार कडा कारबाही गर्न निर्देशन दिए । साथै पीडित परिवारको सुरक्षा, उपचार र क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न प्रशासनलाई आग्रह गरेकाे छ ।
त्यस्तै, आयोगका सदस्य तथा मधेश प्रदेश संयोजक सुन्दर पुकुर्टीले घटनाले समाजमा अझै जातीय विभेद कायम रहेको देखाएको बताए । उनले निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न प्रहरी तथा प्रशासनलाई जोड दिए ।
दलित अभियन्ता मनोज रामको पहलमा आयोगको टोली घटनास्थल पुगेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।