काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्न तयार भएका छन् ।
रास्वपा सभापति रवि लामिछानेसँग दुई चरणमा एक्ला–एक्लै भएको छलफलपछि दुबै नेता एउटै राजनीतिक मोर्चामा उभिने सहमतिमा पुगेका हुन् । विश्वस्त स्रोतका अनुसार हाल सहमतिको अन्तिम खाकालाई औपचारिक रूप दिन प्राविधिक तथा संगठनात्मक गृहकार्यमा दुबै पक्षका नेताहरू जुटिरहेका छन् । सहमतिअनुसार बालेनले रास्वपाको नीति, नेतृत्व संरचना, पार्टी झण्डा तथा निर्वाचन चिन्ह ‘घण्टी’ स्वीकार गर्न तयार भएका छन् । आगामी निर्वाचनमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सहमति भएको स्रोतले जनाएको छ ।
सहमति अनुसार रवि लामिछाने रास्वपाको सभापतिका रूपमा निरन्तर रहने छन् । सहमतिको खाका तयार गरिरहेका नेताहरूका अनुसार भावी प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाहलाई अघि बढाइनेछ । बालेनले पार्टीभित्र कुनै पनि संगठनात्मक पदको दाबी नगरेको दाबी दुबै पक्षले गरेका छन् । यद्यपि, बालेनले जेन–जी (Gen Z) प्रतिनिधित्वलाई कसरी समेट्ने भन्ने विषयमा विशेष चासो व्यक्त गर्दै आएका छन् ।
हालको रास्वपाको पदाधिकारी टोलीमा कुनै परिवर्तन नहुने पनि सहमतिमा उल्लेख गरिएको छ । “लगभग सबै कुरा टुंगिएको छ—नेतृत्व, पार्टी संरचना, झण्डा र निर्वाचन चिन्ह रास्वपाकै रहनेछ, पहिलो प्रधानमन्त्री बालेन हुने सहमति भएको छ,” स्रोतले भन्यो, “आज बेलुकासम्म सहमतिमा हस्ताक्षर हुने सम्भावना छ ।”
रास्वपाको तर्फबाट सहमतिको गृहकार्यमा उपसभापति डा. स्वर्णिम वाग्ले, सचिवालय सदस्य शिशिर खनाल र केन्द्रीय सदस्य असिम साह सहभागी छन् भने बालेनको तर्फबाट उनका सल्लाहकार कुमार बेन सहभागी रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बिहीबार नै बालेन र रविबीच मूल समझदारी बनेको थियो र सोही साँझ सहमतिमा हस्ताक्षर गर्ने तयारी गरिएको थियो । तर जेन–जी प्रतिनिधिहरूले पनि समझदारीमा आफ्नो भूमिका सुनिश्चित गर्नुपर्ने माग उठाएपछि बालेनले उनीहरूसहित विभिन्न राजनीतिक समूहसँग दिनभर छलफल गरेका थिए ।
जेन–जी प्रतिनिधित्वलाई निर्वाचनमार्फत समेट्ने विषयमा रवि र बालेनबीच समान धारणा बनेको पनि स्रोतको दाबी छ । बालेन–रास्वपा एकताको सम्भावित घोषणाले राष्ट्रिय राजनीतिमा नयाँ समीकरणको संकेत गरेको भन्दै राजनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ ।