राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङको समूहबाट पार्टी पदाधिकारीमा कति जना समावेश गर्ने भन्ने विषयमा सहमति भएको छ ।
रास्वपा स्रोतका अनुसार बालेन शाहको समूहबाट एक जना महामन्त्री र एक जना सहमहामन्त्री नियुक्त गर्ने सहमति भएको छ । यस्तै, कुलमान घिसिङको समूहलाई एक जना सहमहामन्त्री र एक जना सहप्रवक्ता दिने सहमति भएको स्रोतले जनाएको छ । ‘बालेन र कुलमान समूहबाट दुई–दुई जनालाई पार्टी पदाधिकारीमा सामेल गराउने भद्र सहमति भएको हो,’ रास्वपा स्रोतले भन्यो, ‘सहमति अनुसार उहाँहरूबाट नाम आउन बाँकी छ ।’
पार्टी सभापति रवि लामिछानेले बालेन शाह र कुलमान घिसिङलाई रास्वपामा सामेल गराउने विषयमा छुट्टाछुट्टै सहमतिमा हस्ताक्षर गरिसकेका छन् । सहमतिअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव पनि समेटिएको छ ।
उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङलाई रवि लामिछानेपछि पहिलो वरीयताको उपसभापति बनाइएको छ । वरीयतामा कुलमानपछिका उपसभापतिमा डिपी अर्याल र स्वर्णिम वाग्ले रहेका छन् । हाल रास्वपामा कबिन्द्र बुर्लाकोटी महामन्त्रीका रूपमा छन् भने सहमहामन्त्रीमा विपिन आचार्य मात्र रहेका छन् ।
यस्तै, सहप्रवक्तामा प्रतिभा रावल र रमेश प्रसाईं कार्यरत छन् ।