सप्तरी | सप्तरीको कञ्चनरूप नगरपालिका–१२ स्थित धारापानी पर्यटकको आकर्षक गन्तव्य बन्न पुगेको छ । यसको सुन्दर प्रकृति र मनमोहक दृश्यले स्थानीय तथा बाहिरी पर्यटकको ध्यान तानेको छ। नयाँ वर्ष, बिदा वा अन्य दिनमा पनि यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
स्थानीय लक्ष्मी चौधरीले जानकारी दिँदै भन्नुभयो, “सन् २०२६ को पहिलो दिन मात्र धारापानीमा पाँच दर्जन टोलीले पिकनिक गरेर फर्केका छन् ।”
जिल्लामै उत्कृष्ट पिकनिक र घुमफिर स्थलको रूपमा परिचित धारापानीमा स्थानीय मात्रै नभएर बाहिरी पर्यटकको पनि रोजाइ बढेको धारापानीकी भावना घिमिरेले बताइन् । उहाँका अनुसार, “यहाँ सुविधा सम्पन्न पिकनिक स्थल निर्माण भएकोले पर्यटकका लागि पिकनिक मनाउन सहज भएको छ ।”
धरान, विराटनगर, काठमाडौँ, इटहरी, झुम्का, इनरुवा, झापा, सिराहा, धनकुटा र भारतको विहार राज्यका विभिन्न स्थानबाट पनि पर्यटकहरू यहाँ पिकनिक र घुमफिर गर्न आउने गरेका छन् ।
पूर्व–पश्चिम राजमार्गदेखि करिब डेढ किलोमिटर उत्तरतर्फ रहेको धारापानीमा प्राकृतिक रूपमा उत्पन्न एक ठुलो र तीन साना धाराहरूले निरन्तर पानी प्रवाह गरिरहेका छन् । यहाँ रहेको धर्मेश्वर महादेवको मन्दिरमा दर्शन गर्न पनि पर्यटकहरू आउने गरेका छन् ।
धारापानी भित्र धारासहित सल्हेश पिढिया, दोभान, कुन्तामाई, परेवाभीर, तिरतिरे, सोलिघोप्टे, हरिण दह, सुगा खोलीलगायतका ठाउँहरू घुम्ने र पिकनिक मनाउने पर्यटकहरूको आकर्षक गन्तव्य बनेका छन् ।
पछिल्लो वर्षको तुलनामा यसपालि धारापानीमा पिकनिक गर्न आउनेको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन गुप्ताले जानकारी दिनुभयो ।