आसन्न राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशको राजनीतिक वृत्तमा तीव्र ध्रुवीकरणसँगै चुनावी तालमेलको चर्चा बढ्न थालेको छ । जेन–जी आन्दोलनपछि पार्टी विभाजन, नयाँ दल गठन तथा नवगठित दलहरूबीच एकता र एकीकरणका प्रयास भइरहेका बेला ठूला संसदीय दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच समेत तालमेलका लागि संवाद अघि बढेको बुझिएको छ ।
नयाँ दलहरूको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवगठित दलहरूलाई एकत्रित गर्दै एउटै पार्टी बनाउने अभियान थालेको छ । रास्वपाका सभापति रवि लामिछानेको अगुवाइमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र बहालवाला मन्त्री कुलमान घिसिङबीच भएको सहमतिले नयाँ राजनीतिक ध्रुवको संकेत दिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
यद्यपि उनीहरूबीच आन्तरिक मतभेद कायमै रहेको चर्चा भए पनि उक्त घटनाक्रमले नेपाली राजनीतिलाई तरंगित बनाएको छ । लामिछाने, साह र घिसिङबीच एकता भएपछि ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले समेत चुनावी गठबन्धन गर्न सक्ने अनुमान सुरु भएको छ ।
जेन–जी आन्दोलनका क्रममा भएका आगजनी, प्रशासनिक र सार्वजनिक संरचनामाथिका आक्रमण तथा सुरक्षानिकायको उपस्थितिमा समेत नियन्त्रण कमजोर देखिएको विषयलाई लिएर ठूला दलहरू सुरक्षा चुनौती र राजनीतिक अन्योलतामा रहेको भन्दै एक ठाउँमा आउनुपर्ने आवाज चुलिँदै गएको छ ।
यसै सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रमेश लेखकलाई दूत बनाएर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गरेको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार ओली र प्रचण्डले देउवाको चुनावी तालमेल प्रस्तावप्रति सकारात्मक संकेत दिएका छन् ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि देउवा, ओली र प्रचण्डबीच अनौपचारिक छलफल भएको पुष्टि गरेका छन् । उनले संविधान, व्यवस्था, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि चौतर्फी आक्रमण भइरहेको तथा विदेशी षड्यन्त्र सक्रिय भएकाले ठूला दलहरूबीच सहकार्यको सम्भावना जीवित रहेको बताए ।
यद्यपि नेता विश्वकर्माले तत्काल प्रतिनिधिसभा निर्वाचनका लागि औपचारिक गठबन्धनको निर्णय भइनसकेको स्पष्ट पारे । “अहिले सिधै गठबन्धन गरेर जनतामा जाने भन्ने कुरा औपचारिक रूपमा तय भएको छैन,” उनले भने, “तर व्यवस्थामाथि खतरा देखिएको अवस्थामा भविष्यमा नयाँ शिराबाट सहकार्य हुनसक्ने सम्भावना कायम छ ।”
देश जलाउने र देश बनाउने शक्तिहरूबीच स्पष्ट कित्ताकाट देखिएको अवस्थामा ठूला दलहरूले संयुक्त रणनीति अपनाउन सक्ने सम्भावना नकार्न नसकिने उनको भनाइ छ ।