सर्लाही | सर्लाहीको बागमती नदी तटीय क्षेत्रमा अहिले माघे सङ्क्रान्तिमा फलाहारका रूपमा खाइने तरुल खन्ने चटारो बढेको छ । किसानबाट केही समयअघि नै हरियो बोटकै अवस्थामा खरिद गरिएको तरुल व्यापारीहरूले मजदुर लगाएर धमाधम खन्ने काम गरिरहेका छन् ।
सर्लाहीका बागमती र बरहथवा नगरपालिकाको बागमती नदी तटीय क्षेत्रमा व्यावसायिक रूपमा तरुल खेती हुँदै आएको छ । माघे सङ्क्रान्ति आउन अब एक साता मात्र बाँकी रहेकाले व्यापारीहरूलाई तरुल काठमाडौँ पुर्याएर बिक्री गर्न भ्याइनभ्याइ भएको छ ।
बागमती नगरपालिका–४, जिरायतका किसान विशाल वाइबाले यस वर्ष पाँच कठ्ठामा रोपेको तरुल व्यापारीलाई ७० हजार रुपियाँमा बिक्री गरेको जानकारी दिनुभयो। जमिनभित्र कति तरुल फलेको छ भन्ने थाहा नहुने भएकाले व्यापारीले बोट हेरेर मूल्य लगाउने गरेको उहाँले बताउनुभयो ।
किसानका अनुसार बाक्लो र मोटो बोट भएको ठाउँमा व्यापारीहरूले पाँच कठ्ठाको तरुलको मूल्य एक लाख २० हजार रुपियाँसम्म दिएका छन् । तर जिरायतकै नरेश महतोले यस वर्ष तरुलले अपेक्षित मूल्य नपाएको गुनासो गर्नुभयो ।
महतोका अनुसार सर्लाहीदेखि काठमाडौँको कालिमाटी तरकारी बजारसम्म पुर्याउँदा तरुल प्रतिकेजी ५० देखि ६० रुपियाँमा मात्र बिक्री भइरहेको छ । उपभोक्ताले खुद्रामा दोब्बर मूल्य तिर्नुपरे पनि आफूहरूले थोक व्यापारीलाई बेच्दा उचित मूल्य नपाएको उहाँको भनाइ छ ।
बागमती फाँटमा तरुल खन्ने कामसँगै सयौँ मजदुरले राम्रो आम्दानी गरिरहेका छन् । सर्लाहीका विभिन्न गाउँबाट युवादेखि वृद्धसम्मका मानिस तरुल खन्न बागमती क्षेत्रमा आइपुगेका छन् ।
चक्रघट्टा गाउँपालिका–२, बेल्हीका ६६ वर्षीय उपेन्द्र रामले एक क्विन्टल तरुल खन्दा व्यापारीले आठ सय रुपियाँ दिने गरेको बताउनुभयो। उहाँका अनुसार एक जना मजदुरले दिनमा डेढ क्विन्टलसम्म तरुल खन्न सक्छन् र माघे सङ्क्रान्तिसम्म यही काम गरेर घर फर्किने योजना रहेको छ ।
सर्लाहीको बागमती, राजघाट, सोल्टी, हजरिया र बरहथवा क्षेत्रहरूमा धेरै किसानले तरुल खेती गर्ने गरे पनि पछिल्लो समय कतिपय किसानहरूले तरुल छाडेर वर्णसङ्कर (हाइब्रिड) मकै खेती गर्न थालेका छन् ।


