काठमाडौँ महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरेका छन् । बालेनको सचिवालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिन मेयर पदबाट राजीनामा गर्न लागेका हुन् ।
बालेन शाह प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा रहेको सचिवालयले जनाएको छ । राजीनामापछि उनी जनकपुरमा कार्यक्रम सहभागी भएर झापा जाने कार्यक्रम रहेको छ । त्यसअघि उनी रास्वपाको केन्द्रीय कार्यालय ‘घण्टी घर’ पुग्नेछन् ।
माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताका लागि बालेन झापा पुग्ने कार्यक्रम तय भएको छ ।
झापा–५ निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि निर्वाचन क्षेत्र हो । निर्वाचन तयारीका क्रममा बालेनले सोमबार रास्वपाका झापास्थित नेताहरूसँग छलफल गरिसकेको जनाइएको छ ।