काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन र चाँदीका विभिन्न गरगहनाहरू चोरी भएको छ । यो जानकारी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले दिएका छन् ।
मंगलबार दिउँसो, घरधनी कपडा धोएर छतमा सुकाउन गएको समयमा उक्त चोरी भएको प्रारम्भिक जानकारी छ । एसएसपी खड्काका अनुसार, “कपडा सुकाउन छतमा गएर करिब एक घण्टा बिताएको भन्ने कुरा आएको छ । त्यही मौकामा चोरी भएको देखिन्छ। हामी अनुसन्धान गरिरहेका छौं ।”
घटनाको अनुसन्धान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त रूपमा अघि बढाइरहेको छ ।
प्रहरीले चोरी गर्ने व्यक्तिहरूको पहिचान र सम्पूर्ण घटनाको विवरण छानबिन गरिरहेको छ ।