नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले आफू मधेशको नेता नभई सेवक तथा छोरा बनेर काम गर्ने उद्देश्यसहित मधेशबाट उम्मेदवारी दिएको स्पष्टिकरण दिएका छन् ।
चुनावी अभियानका क्रममा सप्तरी पुगेका सभापति थापाले आयोजित एक कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन् । “मधेशले काँग्रेसलाई धेरै गुण लगाएको छ,” उनले भने, “हामी केही कुरामा चुकेका छौँ । त्यसको हिसाब–किताब गरेर मधेशप्रति आफूलाई समर्पित गर्न यहाँ आएको हुँ ।”
निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत कञ्चनरुप नगरपालिकामा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले काँग्रेसको सभापति भएर देशको नेतृत्व गर्न मधेशको नेतृत्व गरेर मात्रै सम्भव हुने उल्लेख गरे । काँग्रेस नेतृत्वको सरकारले सिंहदरबारमा काम गर्दा मधेशको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवार रहेका थापाले अहिलेको निर्वाचन आफूहरूले खोजेको नभई निर्वाचनले नै आफूहरूलाई खोज्दै आएको भन्दै युवाहरूको माग सम्बोधन गर्न काँग्रेस बदलिएर आएको टिप्पणी गरे । संविधानलाई तलमाथि हुन नदिने र संविधानभित्र सबैलाई समेटेर अघि बढ्ने काँग्रेसको नीति रहेको बताउँदै उनले संविधान संशोधनमार्फत प्रदेश लगायत सबै वर्ग तथा समुदायको अधिकार थप बलियो बनाइने उद्घोष गरे ।
मंगलबार नै थापाले सप्तरी निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत शम्भुनाथ नगरपालिकाको कठौना बजार तथा क्षेत्र नम्बर–४ अन्तर्गत सुरुङा नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पनि सहभागिता जनाएका थिए । उक्त अवसरमा सप्तरीका चारै निर्वाचन क्षेत्रका उम्मेदवार तथा पार्टीका स्थानीय नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।