चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
बुधबार नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार नेपालले आगामी वर्ष विसं २०८३ को वैशाखमा आयोजना हुने कान्स फिल्म फेस्टिभल २०२६ मा आधिकारिक सहभागिता जनाउने, पोखरामा अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गर्ने, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन गर्ने तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्द्धन सामग्री उत्पादन गर्ने सहमति भएको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यो सहकार्यलाई दीर्घकालीन यात्राको सुरुवात भएको बताए । “चलचित्र छायांकन भइसकेपछि ती स्थान स्वतः पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धित हुने गरेका छन्,” उनले भने, “नेपाललाई पर्यटनप्रधान देश बनाउन हामी हातेमालो गरेर अघि बढ्नेछौं ।”
त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई ‘ल्याण्ड अफ मेमोरेबल स्टोरिज्’ का रूपमा स्थापित गर्ने लक्ष्यसहित चलचित्र पर्यटनलाई प्राथमिकतामा राखिएको बताए ।
उनले चलचित्र छायांकनका लागि आवश्यक नीतिगत सुधार, अनुमति प्रक्रियाको सरलीकरण र सहजीकरण आवश्यक रहेको उल्लेख गर्दै पर्यटन बोर्डले वार्षिक रूपमा ५०–६० अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाउँदै आएको जानकारी दिए । यस सम्झौतापछि ती कार्यक्रममा चलचित्र क्षेत्रसँग सहकार्य गरी प्रवर्द्धन गरिने उनले बताए ।
सम्झौतापत्रमा चलचित्रमार्फत प्रेरित यात्रा (सेट–जेटिङ) लाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय प्रदर्शनी तथा बजारमा संयुक्त प्रवर्द्धन गर्ने, नेपाललाई श्रव्य–दृश्य उत्पादनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने तथा पूर्वाधार विकास र प्रवर्द्धन अभियान सञ्चालन गर्ने विषय समेटिएका छन् ।
त्यसैगरी नेपाल पत्रकार महासंघका सचिव बैकुण्ठराज पराजुलीले पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीचको यो समझदारीले नेपाललाई क्षेत्रीय तथा विश्व पर्यटन नक्सामा थप मजबुत रूपमा स्थापित गर्ने रणनीतिक कदम भएको बताए ।
विश्वव्यापी रूपमा चलचित्र पर्यटनले गति लिइरहेको सन्दर्भमा नेपालले आफ्ना प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सम्पदालाई पर्दामार्फत विश्वसामु प्रस्तुत गर्दै पर्यटन आगमन वृद्धि गर्ने लक्ष्य लिएको छ ।