मलेसियामा हाल १ लाखभन्दा बढी नेपाली सुरक्षा गार्ड कार्यरत छन् । ती गार्डहरू महिनाको ३० दिन हरेक दिन १२ घण्टा ड्युटीमा खटिन्छन्, ठुल्ठुलो भवनदेखि स–साना क्षेत्रसम्मको सुरक्षा सुनिश्चित गर्दै अहोरात्र काम गर्छन् । तर, मासिक ३० दिन दैनिक १२ घण्टाको कठिन ड्युटी, बिरामी हुँदा बिदा नपाउने, तलब काटिने र उपचारका लागि आफैं खर्च गर्नुपर्ने बाध्यताका कारण उनीहरूको जीवन अत्यन्तै कठिन बनेको छ ।
लामो समय मलेसियामा सुरक्षा गार्डको काम गर्दै आएका दुर्गा मगरका अनुसार, मासिक तलब पनि न्यूनतम पारिश्रमिकभन्दा कम पाइन्छ । मलेसियाले मासिक १,७०० रिंगिट तोके पनि सुरक्षा गार्डहरू २,२०० रिंगिटसम्म पाउँछन्, जसमा विभिन्न शीर्षकमा कटौती भएपछि वास्तविक रकम अझ कम हुन्छ। आकर्षण इन्टरनेसनलका अध्यक्ष विष्णु केसी र मलेसियास्थित जनउद्धार केन्द्रका अध्यक्ष केशु थापा ले पनि नेपाली सुरक्षा गार्डहरू चरम श्रम शोषणको शिकार भएको बताए ।
मलेसियामा १,१२७ सुरक्षा कम्पनी रहेको र ती कम्पनीहरूले लाइसेन्स र कमिसन प्रणालीमार्फत सुरक्षा गार्डलाई बढी रकम तिरेर काममा लगाउने भएकाले श्रमिक थप मर्कामा पर्नु परेको देखिन्छ । सुरक्षा गार्डहरूले बिरामी हुँदा तलब कटौती, बस्ने ठाउँबाट काम गर्ने ठाउँसम्म लामो दूरी तय, असुरक्षित यातायात र दैनिक जीवनमा अन्य कठिनाइ भोग्नु परेको छ ।
नेपाली दूतावासका श्रम काउन्सेलर कृष्णप्रसाद भुसाल का अनुसार, मलेसियामा हरेक महिना औसत ४० नेपालीको मृत्यु हुन्छ, तीमध्ये धेरैजसो सुरक्षा गार्ड नै छन् । गत आर्थिक वर्ष २०८१/८२ मा ४९,१८७ नेपाली मलेसियामा श्रम स्वीकृति लिएर पुगेका थिए ।
अध्ययनहरूले मलेसियामा सुरक्षा गार्डहरूको जीवन र स्वास्थ्य जोखिमपूर्ण रहेको देखाएका छन् । २०१८ मा नेपाल–मलेसिया श्रम सम्झौता भए तापनि सुरक्षा गार्डहरूले अझै पनि उच्च लागत तिरेर काम पाउन बाध्य छन् । नेपाली दूतावासले भने क्रमिक सुधार भइरहेको दाबी गरेको छ ।