निर्वाचन आयोग ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी प्रचार–प्रसारको समय तालिका सार्वजनिक गरेको छ ।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म प्रचार–प्रसारको समय निर्धारण गरिएको छ । साथै सरोकारवालाहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन समेत दिएको छ ।
आयोगले तोकिएको कार्यतालिका बमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी प्रचार–प्रसारका लागि निश्चित समयसीमा प्रदान गरिएको जनाएको छ । आयोगका अनुसार संवत् २०८२ साल फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ३ गते राति १२ बजेपछि राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार सुरु गर्न पाउनेछन् ।
निर्वाचन आचारसंहिता २०८२ ले राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार–प्रसारसम्बन्धी गतिविधि सञ्चालन गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ ।
रामप्रसाद भण्डारी का अनुसार फागुन ३ गते राति १२ बजेपछि अर्थात् फागुन ४ गतेदेखि सुरु हुने प्रचार अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहनेछ । उनले प्रचार–प्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि तथा शुभेच्छुकहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोगले निर्देशन दिएको जानकारी दिएका छन् ।