निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६४ बुँदे निर्देशन जारी गरेको छ ।
आइतबार आयोगमा आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले निर्वाचन आचारसंहिताका विषय समेटेर ६४ बुँदे निर्देशन जारी गरिएको जानकारी दिएका हुन् ।
आयोगका अनुसार उम्मेदवारहरूले फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा तथा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाउनेछन् । साथै प्रचार–प्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने व्यवस्था गरिएको छ ।
त्यस्तै, निर्वाचनसम्बन्धी खर्च अनिवार्य रूपमा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नुपर्ने, निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको पूर्ण विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । टिसर्ट, टोपी, झोला, मास्क वा लकेटजस्ता निर्वाचन चिह्न अंकित सामग्री वितरण तथा प्रयोग गर्न नमिल्ने आयोगले स्पष्ट पारेको छ ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिताको पूर्ण पालना भए–नभएको आयोगले नियमित अनुगमन गर्ने र उल्लङ्घन भएमा सचेत गराउनेदेखि जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजायको व्यवस्था रहेको बताए ।
उनका अनुसार निर्वाचन आचारसंहिता राजनीतिक दल तथा सरोकारवाला पक्षसँग परामर्श गरी तयार पारिएको भएकाले दल र उम्मेदवारहरूले यसको पालना गर्ने आयोगको विश्वास रहेको छ ।
आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिलाई ६ वर्षसम्म कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था रहेको पनि उनले जानकारी दिए । साथै मतदाता शिक्षाका लागि आयोगले बजेट विनियोजन गरिसकेको र उक्त बजेट सही ठाउँमा खर्च भए–नभएको विषयमा आयोगले नजिकबाट अनुगमन गरिरहेको जनाएको छ ।