सास फेर्नु मानव जीवनको आधार हो । सामान्य अवस्थामा वयस्क मानिस एक मिनेटमा करिब १२–२० पटक सास फेर्छ, अर्थात् सेकेन्डमा करिब १–२ पटक । यो प्रक्रिया स्वतः हुन्छ, तर यदि सास रोकियो भने मात्र केही मिनेटमै जीवन जोखिममा पर्न सक्छ ।
फोक्सो हाम्रो श्वासप्रश्वास प्रणालीको मुख्य अंग हो । यो स्पन्जजस्तै नरम र लचिलो तन्तुबाट बनेको छ र छातीको भित्र मुटुको वरिपरि रहेको हुन्छ । दाहिने फोक्सो ‘अपर, मिडल र लोअर’ गरी तीन भागमा विभाजित छ भने देब्रे फोक्सो दुई भागमा हुन्छ । फोक्सोको मुख्य कार्य शरीरमा अक्सिजन पुर्याउने र कार्बन डाइअक्साइड बाहिर निकाल्ने हो, जसलाई ग्यास एक्सचेन्ज भनिन्छ ।
हावा नाक वा मुखबाट घाँटी हुँदै श्वासनलीमा प्रवेश गर्छ र फोक्सोभित्र स–साना नलीहरू (ब्रोंकाइ) हुँदै एल्भियोलीमा पुग्छ । एल्भियोली अंगुरको झुप्पाजस्तै पातलो झिल्लीयुक्त संरचना हो, जसको वरिपरि रक्तनलीहरू माकुराजालझैं फैलिएका हुन्छन् । यहाँ अक्सिजन सोसिएर रक्तसञ्चार प्रणालीमा प्रवेश गर्छ र कार्बन डाइअक्साइड बाहिर निस्कन्छ ।
मानिसले दैनिक ८–९ हजार लिटर हावा सास फेर्छ, तर शरीरले यसको केवल ५ प्रतिशत अक्सिजन मात्र प्रयोग गर्छ । दुईवटा फोक्सो हुनुको मुख्य कारण शरीरको सुरक्षा र सन्तुलन हो। यदि एउटा फोक्सो बिग्रियो भने अर्कोले आंशिक रूपमा काम गर्नुका साथै जीवन बचाउन मद्दत गर्छ ।
फोक्सो स्वस्थ राख्नका लागि धूम्रपान नगर्ने, नियमित व्यायाम गर्ने, स्वच्छ हावा प्रयोग गर्ने र प्रदूषणबाट बच्ने आवश्यक छ । धूम्रपानले फोक्सोको झिल्ली र रौँहरूलाई बिगार्छ, संक्रमणको जोखिम बढाउँछ र दीर्घकालीन रोग जस्तै सिओपिडी, फाइब्रोसिस वा क्यान्सर निम्त्याउन सक्छ । तर धूम्रपान छोडेमा फोक्सोको स्वास्थ्यमा सकारात्मक सुधार आउन सक्छ ।
फोक्सोमा देखा पर्ने सामान्य समस्याहरूमा रुघाखोकी, खोकी, दम, फोक्सोको संक्रमण र क्यान्सर मुख्य छन् । श्वास फेर्न गाह्रो, छाती दुख्ने वा खोकी लामो समय रह्यो भने तुरुन्त डाक्टरसँग जाँच गराउनु आवश्यक छ ।