वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर–२६, सुगौली टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु को घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
घरदैलोका क्रममा जेन–जी युवा, ज्येष्ठ नागरिक, महिला तथा स्थानीय समर्थकहरूले उम्मेदवार कानुलाई अबिर र गम्छा लगाएर आत्मीय स्वागत गरेका थिए । कार्यक्रममा सहभागी स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै कानुले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताए ।
“जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम ल्याउनेछु,” उनले भने, “स्थानीय तहदेखि संघीय तहसम्मको समन्वयमा योजनाबद्ध विकास अघि बढाइनेछ ।” उनले कृषकका लागि सहज मल व्यवस्थापन, युवालाई रोजगारीमुखी तालिम तथा सीप विकास कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
घरदैलोका क्रममा कानुले रास्वपा नेतृत्वमा दलित समुदाय लक्षित स्वास्थ्य सुधार, शिक्षामा पहुँच विस्तार तथा स्थायी रोजगारीका अवसर सिर्जना गरिने विश्वास व्यक्त गरे। विकास, रोजगारी, शिक्षा र कृषिलाई केन्द्रमा राखेर जनताको आवश्यकता अनुसार काम गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी समर्थकहरूले “परिवर्तनका लागि घण्टी ओठमा मात्र होइन, मनले छ समर्थन घण्टीमा—यो निर्वाचन हाम्रो हो, परिवर्तनको हो” भन्ने नारा लगाउँदै समर्थन जनाएका थिए ।
स्थानीयका अनुसार सुगौली टोलमा देखिएको उत्साह र सहभागिताले पर्सा–२ मा चुनावी गतिविधि थप सक्रिय बन्दै गएको संकेत गरेको छ ।