वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई क्रोएशिया पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका – ७ बस्ने, गुल्मी दरबार गाउँपालिका–४ घर भएका ४५ वर्षीय रबिन्द्र जंग रायमाझी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पीडितहरूको उजुरीका आधारमा उनलाई मध्यपुर थिमी नगरपालिका – ४ बाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रायमाझीले क्रोएशिया पठाइदिने भन्दै ३ जना पीडितबाट ११ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।