रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा मङ्गलबार साँझ एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ। प्रारम्भिक रूपमा प्राविधिक खराबीलाई दुर्घटनाको कारण मानिएको छ।
सरकारी समाचार एजेन्सीहरूले रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार एएन – २६ सैन्य यातायात विमानमा ६ जना चालक दल र २३ जना यात्रु सवार थिए । विमानले नियमित उडान गरिरहेको बेलामा सेनाले करिब साँझ ६ बजेतिर विमानसँग सम्पर्क गुमाएको थियो ।
विमान क्रिमियन प्रायद्वीपमाथि निर्धारित मार्गमा उडिरहेको थियो । सन् २०१४ मा रुसले युक्रेनबाट क्रिमियन प्रायद्वीप कब्जा गरेको थियो, जसलाई अन्तर्राष्ट्रिय समुदायले अवैध मान्दै आएको छ ।
दुर्घटनापछि उद्धार टोली परिचालन गरिएको थियो, तर घटनास्थलमै सबैको मृत्यु भएको पुष्टि भएको रक्षा मन्त्रालयले जनाएको छ ।
समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार, प्रारम्भिक अनुसन्धानले दुर्घटना प्राविधिक खराबीका कारण भएको निष्कर्ष दिएको छ । मन्त्रालयले विमानमा कुनै बाह्य आक्रमण वा हस्तक्षेप नभएको विश्वास गरेको पनि बताएको छ ।
दुर्घटनास्थलका स्रोतहरूलाई उद्धृत गर्दै राज्य सञ्चालित तास र आरआइए नोभोस्तीले विमान चट्टानी क्षेत्रमा खसेको र त्यसका कारण क्षति भयावह भएको जानकारी दिएका छन् ।
एएन – २६ सोभियतकालीन डिजाइनमा आधारित सैन्य यातायात टर्बोप्रप विमान हो, जुन विभिन्न सैन्य र लजिस्टिक प्रयोजनका लागि प्रयोग हुँदै आएको छ ।