मकवानपुरको मनहरी गाउँपालिकामा गाईपालनप्रति युवाको आकर्षण बढ्दै गएको छ । गाउँपालिकाले दुधको भुक्तानीको जिम्मा लिएसँगै गाईपालन गर्ने किसानको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको हो ।
मनहरी–१ मकरीमा मात्रै दैनिक तीन हजार लिटरभन्दा बढी दुध सङ्कलन भइरहेको छ । यहाँबाट दुध बिक्री गरी मासिक ६८ लाख रुपियाँभन्दा बढी आम्दानी भइरहेको छ । गाउँपालिकाले डेढ वर्षअघि दुग्ध उत्पादक सहकारीसँग सम्झौता गरी दुध खरिद सुरु गरेपछि किसानले समयमै भुक्तानी पाउन थालेका छन् । यसले युवालाई गाईपालनतर्फ आकर्षित गरेको हो ।
मकरी–१ का ३३ वर्षीय राममणि न्यौपानेले करिब आठ लाख रुपियाँ लगानीमा पाँच वटा होलिस्टेन गाई पालेर व्यवसाय सञ्चालन गर्दै आएका छन् । उहाँले दैनिक ५० लिटर दुध बिक्री गरी मासिक करिब एक लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ भने खर्च कटाएर करिब ५० हजार रुपियाँ बचत गर्न सफल हुनुभएको छ । न्यौपानेले भविष्यमा २० वटा गाई पु¥याउने लक्ष्य राखेका छन्। उहाँले १२ कठ्ठा क्षेत्रफलमा गाईका लागि कमैचरी र सुपर नेपियर जातको घाँस रोपेका छन् । गाईपालनसँगै उहाँले २३० बोट सुनकागती पनि लगाउनुभएको छ । बस्तुको मल प्रयोग गरेर लगाएको कागतीबाट आगामी वर्ष आम्दानी प्राप्त हुने विश्वास लिनुभएको छ ।
त्यस्तै, रामकुमार खड्काले व्यावसायिक रुपमा गाईपालन गर्दै मासिक करिब दुई लाख ५० हजार रुपियाँ बराबरको दुध बिक्री गर्दै आएका छन् । सबै खर्च कटाएर उहाँले करिब डेढ लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । उहाँले आफ्नो फार्ममा एक जनालाई रोजगारीसमेत दिनुभएको छ ।
साउदी अरब जाने तयारीमा असफल भएपछि स्वदेशमै केही गर्ने उद्देश्यले रामकुमार उप्रेतीले पनि पाँच लाख रुपैयाँ लगानीमा चार वटा गाई पालेर व्यवसाय सुरु गर्नुभएको छ ।
त्यस्तै, २३ वर्ष भारतमा सवारी चालकको रूपमा काम गरी कोरोना महामारीपछि स्वदेश फर्केका देवराज न्यौपानेले पनि गाईपालन व्यवसाय अपनाएका छन् । उहाँको गोठमा हाल १३ वटा गाई छन् र दुध बिक्रीबाट वार्षिक करिब १० लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।
मकरीकै विशाल उप्रेतीले साढे चार लाख रुपियाँ लगानीमा चार वटा गाई पालेर व्यवसाय सुरु गर्नुभएको छ। दुई महिनाभित्रै उहाँ प्रति गाई मासिक २० हजार रुपियाँभन्दा बढी नाफा लिन सफल भएका छन् । पालिकाले मासिक दुध भुक्तानी दिने भएपछि ड्राइभिङ पेशा छोडेर गाईपालनमा फर्केका हुन् ।
हाल मनहरी गाउँपालिकामा दैनिक करिब १४ हजार लिटर दुध सङ्कलन भइरहेको छ । स्थानीय तहले दुध खरिद, समयमै भुक्तानी र अनुदान जस्ता कार्यक्रम ल्याएपछि मनहरीसहित बकैया र बागमती गाउँपालिकामा पनि गाईपालन व्यवसाय विस्तार हुँदै गएको छ ।